बन्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, आमा-छोरा गम्भीर घाइते

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १४:२०

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक व्यक्तिले आफ्नै परिवारका सदस्यलाई बन्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्को छोरा गम्भीर घाइते भएका छन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा शनिबार बिहान आफ्नै श्रीमती र तीन छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि दुल्लु नगर अस्पताल पुर्‍याइएको थियो ।

घटनामा घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र छ वर्षीय छोरा मिलन सलामी मगरको अवस्था पनि चिन्ताजनक रहेको छ । दुवैलाई दुल्लु नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.