
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरूमाथि बन्चरो प्रहार गरेको घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते उनकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान घरायसी विवादका क्रममा आफ्नी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र तीन छोराछोरीमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गम्भीर घाइते मनिषालाई दुल्लु नगर अस्पतालबाट थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । शनिबार दिउँसो २ बजे अस्पताल पुर्याइएकी उनलाई उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यसअघि सोही घटनामा घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी मगर र तीन वर्षीया छोरी करिश्मा सलामी मगरको दुल्लु नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते भएका छ वर्षीय छोरा मिलन सलामी मगरको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा खटिएको टोलीले अम्बरलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

























