हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न मन्त्री बादीको आह्वान

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १०:०३

काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा सन्देश जारी गर्दै उनले हिंसा, विभेद र अपमान सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताइन् । महिलाको सम्मान, सुरक्षा र समान सहभागिताबिना लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ ।

मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने विभेदविरुद्ध राज्यका निकाय र नागरिक सबैले आवाज उठाउनुपर्नेमा जोड दिइन् ।

पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा कुनै पनि पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले दोषीलाई कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्न आग्रह गरिन् ।

‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,’ उनले भनिन् । पीडितले न्याय माग्न राज्यका निकायमा पुग्दा संवेदनशील र जिम्मेवार व्यवहार गर्नसमेत उनले आग्रह गरिन् ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानलाई हिंसामुक्त र विभेदरहित समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.