
सुनसरी । कोशी प्रदेश अन्तरविद्यालय आठौँ डीआईजी रनिङ कप फुटबल प्रतियोगिता आगामी पुस ३ गतेदेखि सञ्चालन हुने भएको छ ।
नेपाल प्रहरी स्कुल धरानको आयोजनामा पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेलमैदानमा हुनेछ ।
विद्यालयस्तरदेखि फुटबल खेलको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीको पहिचान गर्ने उद्देश्यले ‘फेयर प्ले फर फ्रेन्डसिप’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुनेछन् । सहभागिताका लागि पहाडी क्षेत्रका सामुदायिक तथा सरकारी विद्यालयलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
विद्यालय तहदेखि नै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल प्रहरी स्कुल धरानकी प्रहरी निरीक्षक अनिता महतले बताइन् । प्रतियोगिताले बालबालिकामा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरमा अघि बढ्ने अवसर दिने उनको भनाइ थियो ।
प्रतियोगितामा सहभागी हुन मङ्सिर २८ गतेसम्म दर्ता गर्न सकिनेछ । विजेता टोलीले एक लाख पाँच हजार एक रुपैयाँ, रनिङ शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई ५० हजार पाँच रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सागर कार्कीले जानकारी दिए ।
त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

























