
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित रानी क्षेत्रबाट लागूऔषध गाँजा बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले आमा–छोरासहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले उनीहरूलाई ७ किलो १८० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार रानीमा भारतीय नागरिक कविता यादवले सञ्चालन गर्दै आएको होटलमा छापा मारेको थियो। होटलबाट गाँजा फेला परेपछि कविता, उनका छोरा मुन्ना कुमार यादव र गाँजा बेचबिखनमा संलग्न मोरङको जहदा गाउँपालिका–१ का मञ्जित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा होटलको आवरणमा लागूऔषधको अवैध कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको हो।























