
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट १ जना शिक्षकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–०११ ख १६०२ नम्बरको बसले को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ६ः४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक बेलबारी नगरपालिका–४ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार गम्भीर घाइते भएका कोइरालालाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पतालमा पुर्याउनसाथ चिकित्सकले साँझ ७ः३५ बजेतिर मृत घोषित गरिदिएका हुन् । मृतक कोइराला बेलबारीको कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीले जनाएको छ ।
बस र चालक झापाको मेचीनगर नगरपालिका–१० का ४८ वर्षीय सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

























