
खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान अन्ततः सम्पन्न भएको छ । विक्रम संवत् २०७६ सालमा सुरु गरिएको सडक ढलानको काम ७ वर्षपछि पूरा भएसँगै अब बजार क्षेत्र हिउँदमा धुलो र बर्खामा हिलोको समस्याबाट मुक्त भएको छ ।
दिक्तेल बजारको किराँत चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै लामो समयदेखि व्यवसायी र सर्वसाधारणले भोग्दै आएको सास्ती अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँडडुल गर्नसमेत कठिन रहेको सडक अहिले सहज र व्यवस्थित बनेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।
उनका अनुसार संघीय र प्रदेश सरकारबाट प्राप्त ६ चरणको बजेटमार्फत साँघुरो र जीर्ण अवस्थामा रहेको सडक पूर्ण रूपमा ढलान गरिएको हो । शंखधर साख्वा चोकदेखि भानुचोकसम्मको अन्तिम खण्डको ढलान पुस २७ गते सम्पन्न भएपछि दिक्तेल बजारको सडक ढलानले पूर्णता पाएको हो ।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङको ९५ लाख ८५ हजार ७८ रूपैयाँ लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रा.लिले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीले २०८२ चैत २२ भित्र सम्पन्न गर्ने सम्झौता गरे पनि तोकिएको समयभन्दा झन्डै ३ महिना अगाडि नै काम सकेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए ।
यसअघि नै दिक्तेल बजारका अन्य सडक खण्ड ढलान भइसकेका थिए । तर, बजेट अभावका कारण मुख्य सडक लामो समयसम्म अलपत्र पर्दा राजनीतिक दल र स्थानीयबाट निरन्तर आलोचना हुँदै आएको थियो । ढिलो भए पनि सडक सम्पन्न भएपछि जिल्लावासी सन्तुष्ट देखिएका छन् ।
सडक ढलानसँगै दिक्तेल बजारको सौन्दर्यकरणको काम पनि सुरु भएको छ । कोशी प्रदेश सरकारले यस आर्थिक वर्षमा बजार सौन्दर्यकरणका लागि १ करोड बजेट उपलब्ध गराएको छ । उक्त बजेटबाट राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जीर्ण सालिक पुनः निर्माण, चोकहरूमा टायल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण र सांकेतिक चिन्ह राख्ने काम भइरहेको छ ।
भानुभक्तका कविताका हरफसमेत समावेश गरी चोकलाई आकर्षक बनाइने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । भानुचोकमा रहेको भानुभक्तको सालिक स्थानीयवासी र टोल विकास संस्थासँगको सहमतिमा आधुनिक ढंगले पुनः निर्माण गरिँदै छ ।
१ करोडको ठेक्कामध्ये सुदेवी कन्स्ट्रक्सन प्रा.लि हलेसीले ८१ लाख ९ हजार २ सय २९ रूपैयाँमा सम्झौता गरी काम अघि बढाएको छ । यसै योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालयदेखि भानुचोक र लोकसेवा आयोग कार्यालयसम्म सडक सुधारको कामसमेत गरिनेछ ।
सडक ढलान र सौन्दर्यकरण पूरा भएपछि दिक्तेल बजारको संरचना व्यवस्थित हुने स्थानीय बताउँछन् । साथै, ऐतिहासिक र साहित्यिक पहिचान बलियो बन्ने तथा पर्यटकीय आकर्षण बढ्ने अपेक्षा गरिएको उनीहरुको भनाइ छ ।























