सामाजिक सद्भावमा खलल नपुगोस् : मोरङमा सबै धर्मका अगुवाको साझा प्रतिबद्धता

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १५:५४

विराटनगर । पछिल्लो समय तराई–मधेसका केही जिल्लामा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुगेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सद्भावसम्बन्धी छलफल सुरु गरेको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै यस्ता गतिविधिले शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सद्भाव छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पछिल्लो समय केही धार्मिक स्थलहरूलाई धार्मिक असहिष्णुता र घृणा फैलाउने माध्यमका रूपमा प्रयोग गरिएको पाइएकाले त्यस्ता गतिविधि नगर्न र नगराउन सबैलाई आग्रह गरिएको छ । साथै सामाजिक शान्ति र सद्भाव कायम राख्न जिल्लास्थित सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सद्भाव समिति गठन गरी सक्रिय रूपमा कार्य गर्न निर्देशन दिइएको छ ।

कुनै व्यक्ति विशेषले कुनै धर्मप्रति भावनात्मक रूपमा नकारात्मक असर पर्ने अभिव्यक्ति दिएको वा सामाजिक सञ्जालको दुरुपयोग गरेको खण्डमा त्यसलाई व्यक्तिगत कसुर मानी कानुनी कारबाही गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । यस्ता घटनालाई कुनै समुदायसँग नजोडी कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ ।

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै, कुनै धार्मिक वा साम्प्रदायिक मतभेदको सम्भावना देखिएमा समुदायस्तरमै सचेतना फैलाएर वैमनस्यता हुन नदिने वातावरण निर्माण गर्न अनुरोध गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको संवेदनशील समयमा सामाजिक एकता र आपसी विश्वास कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

छलफलमा विभिन्न धर्मका धर्मगुरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि साथै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.