विराटनगरमा ४ जना साहित्यकार पुरस्कृत हुने

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार ०६:०२

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार आगामी माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच ती पुरस्कारहरू समर्पण गरिने भएको हो।

प्रतिष्ठानले यस वर्षको नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका प्रभावशाली व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ। १५ हजार रुपैयाँ राशिको सो पुरस्कार नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलले स्थापना गरेका हुन्।

त्यस्तै, मनमाया दाहाल र उनका छोराछोरीहरूबाट स्थापित १५ हजार रुपैयाँ राशिको नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा क्रियाशील साहित्यकार डा. कौशिला रिसाललाई प्रदान गरिने भएको छ।

साहित्यकार तारानाथ पोखरेलले मातापिताको स्मृतिमा स्थापना गरेको ११ हजार रुपैयाँ राशिको छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ साहित्यकार मधु पोखरेललाई प्रदान गरिने छ।

यसैगरी, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित ११ हजार रुपैयाँ राशिको माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार नेपाली मुक्तक साहित्यका समर्पित साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीले बताए अनुसार प्रतिष्ठानद्वारा गठित ५ सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्वहरूको छनोट गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.