
सुनसरी । सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरान र बराहक्षेत्र इलाकाबाट उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल प्रदेश प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्बे धरानबाट पुस २९ गते खटिएको संयुक्त टोलीले धरान–१७ बाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय अमित थापा मगर र १७ वर्षीय सुमन राई रहेका छन्। प्रहरीका अनुसार मगरको साथबाट १ ग्राम २० मिलिग्राम र राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट चतराबाट खटिएको टोलीले बराहक्षेत्र–१ स्थित चतरा पुलबाट थप दुई जनालाई प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटा सहिदभूमि–२ का समिर राई र उदयपुर बेलका–७ का रमेश राई रहेका छन्। उनीहरूको साथबाट १६० ट्याब्लेट प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।























