सांकेतिक तस्बिरसंखुवासभा। संखुवासभाको मकालु गाउँपालिका–३ आला क्षेत्रमा बिहीबार दिउँसो भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। आफ्नै अलैँची खेतीमा प्लास्टिकको पाइपमार्फत पानी लैजाने क्रममा मकालु–३ निवासी ४२ वर्षीय दुर्गाबहादुर राई सिओङ खोलाको भीरबाट २५ मिटर तल खसेका थिए। भीरबाट सिधै खोलामा खसेका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले टेलिफोनमार्फत खबर गरेपछि इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी सहायक हवल्दार नजरमान राईको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको र मृतकको शवलाई शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जानकारी दिएको छ। घटनास्थल प्रहरी कार्यालयबाट करिब ७ किलोमिटरको दुरीमा अवस्थित छ।























