
काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ । माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यस चलचित्रले ९ दिनमा १ करोड १० लाख रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको हो ।
दोस्रो सातामा प्रवेश गर्दा पनि हलमा दर्शकको उत्साहजनक साथ कायम छ । विशेष गरी दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) का कारण चलचित्र हेर्नेहरूको सङ्ख्या बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र हेरेर निस्कने अधिकांश दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन् । निम्नमध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई पर्दामा दुरुस्तै उतारिएको भन्दै धेरै दर्शकहरू भावुक समेत बनेका छन् । दर्शकको प्रतिक्रिया बुझ्न चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलसम्म पुगिरहेका छन् ।
टेलिभिजन पर्दामा ‘बल्छी धुर्वे’ को रूपमा लोकप्रिय मरिचमानले ठूलो पर्दामा पनि निर्देशक र कलाकारका रूपमा आफूलाई सफल सावित गर्ने संकेत देखाएका छन् । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा मरिचमानका साथै वर्षा शिवाकोटी, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना लगायतका कलाकारको अभिनय छ ।
निर्देशक मरिचमान श्रेष्ठले एक इमानदार कथा भन्ने प्रयास गरेको र दर्शकले यसलाई आफ्नै कथा ठानेर माया दिएकोमा खुसी व्यक्त गरे । दर्शकको यो मायाले आगामी दिनमा हलमा उपस्थिति अझै बढ्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।



















