सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार ०६:११

काठमाडौं । माघ १४ गते अर्थात् बधुबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पहिलोपटक सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष माघ १४ गते राष्ट्रिय दिवस मनाउने निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार अवैध रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध देखाउने गतिविधि नियन्त्रण गर्ने, वित्तीय प्रणालीलाई पारदर्शी बनाउने र सुशासन प्रवर्धन गर्ने उद्देश्यका साथ यो दिवसलाई महत्वका साथ मनाउन थालिएको हो । मन्त्रिपरिषद्ले २०८१ पुस १६ गतेको निर्णयमार्फत माघ १४ गतेलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका रूपमा मनाउने औपचारिक निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यस वर्ष पहिलोपटक राष्ट्रिय स्तरमै दिवस मनाउन लागिएको विभागले जनाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम, सरोकारवाला निकायबीच अन्तरक्रिया तथा वित्तीय अनुशासन र कानुनी पालना सम्बन्धी सन्देश प्रवाह गर्ने गतिविधिहरू सञ्चालन गरिँदैछन् ।

अवैध आर्थिक गतिविधिले राज्यको अर्थतन्त्र, सामाजिक न्याय र सार्वजनिक विश्वासमा गम्भीर असर पार्ने भएकाले यसविरुद्ध प्रभावकारी नियन्त्रण र समन्वय आवश्यक रहेको विभागको धारणा छ । सरकारले पछिल्लो समय सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै कानुनी, संस्थागत र प्रविधिगत सुधारमा जोड दिँदै आएको छ ।

राष्ट्रिय दिवसको माध्यमबाट आमनागरिक, निजी क्षेत्र र सरोकारवाला निकायलाई कानुनको पालना एवं जिम्मेवारीप्रति थप सचेत गराउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.