निर्वाचन सामग्रीमा स्वदेशी प्राथमिकता

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार ०७:१७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मितव्ययी, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यसहित सामग्री प्रयोगमा नयाँ नीति अघि सारेको छ ।

आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने निर्णय गर्दै स्वदेशी उत्पादनको प्रयोग र प्रोत्साहनलाई निर्वाचन व्यवस्थापनको मूल आधार बनाएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा कुल ५१ प्रकारका सामग्री प्रयोग हुन्छन् ।

तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लास्तरबाटै विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । यसले एकातिर खर्च नियन्त्रणमा सहयोग पुर्‍याउने र अर्कोतिर स्थानीय बजार तथा उत्पादनलाई प्रत्यक्ष लाभ पुग्ने आयोगको अपेक्षा छ ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिँदैछ । तीमध्ये अधिकांश सामग्री ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत खरिद गर्ने जिम्मेवारी दिइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि जम्मा ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको छ भने बाँकी आवश्यक सामग्री अघिल्ला निर्वाचनबाट बाँकी रहेको स्टकलाई पुनः प्रयोगमा ल्याइएको छ । आयोगले यस कदमलाई निर्वाचन खर्च घटाउने, सार्वजनिक स्रोतको सदुपयोग गर्ने र निर्वाचनप्रति जनविश्वास बलियो बनाउने प्रयासका रूपमा लिएको छ ।

स्वदेशी सामग्रीको प्रयोगले आयातमा निर्भरता घटाउने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक सन्देश जाने आयोगको बुझाइ छ । आगामी फागुन २१ गते हुने निर्वाचनको अन्तिम तयारीमा आयोग केन्द्रित छ । आयोग मतदान प्रक्रिया निष्पक्ष, विश्वसनीय र खर्चिलो नहोस् भन्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी भट्टराईले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.