
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै कडा चेतावनी दिएका छन् ।
उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढिरहेको जानकारी दिँदै इरानलाई तत्काल वार्तामा आउन आग्रह गरेका छन् । ट्रम्पका अनुसार नौसैनिक टोली भेनेजुएलामा पठाइएको भन्दा ठूलो छ ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले भने, ‘हामी जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिन तयार छौँ ।’ इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी बारम्बार गर्दै आएको छ ।
अमेरिकामा आधारित मानवअधिकार संस्थाहरूले इरानमा हालैको प्रदर्शन दमनमा हजारौंको मृत्यु भएको रिपोर्ट गरेका छन् । नर्वेस्थित संस्था अनुसार मृतक संख्या २५ हजार नाघ्न सक्ने देखाइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी शासन इतिहासमै कमजोर अवस्थामा पुगेको बताए । तर, ट्रम्पको चेतावनी मुख्यतः परमाणु कार्यक्रममै केन्द्रित छ । उनले सामाजिक सञ्जालमा इरानलाई निष्पक्ष सम्झौता गर्न र परमाणु हतियार नबनाउन आग्रह गरेका छन् ।
इरानी विदेशमन्त्री अराघचीले भने, ‘इरान सधैं बराबरी र दबाबरहित वातावरणमा निष्पक्ष परमाणु सम्झौता गर्न तयार छ ।’ उप–विदेशमन्त्री काजेम घारिबाबादीले भने औपचारिक वार्ता सुरु नभए पनि सन्देशहरूको आदानप्रदान भइरहेको जानकारी दिए ।


















