मुक्तक प्रतिष्ठानद्वारा भट्टराई र रिसालसहित चार स्रष्टा पुरस्कृत

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १२:१३

विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश समितिले मुक्तक दिवसको अवसरमा चारजना विशिष्ट स्रष्टालाई पुरस्कृत गरेको छ। विराटनगरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चार साहित्यकारलाई नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो।

प्रतिष्ठानले १५ हजार रुपैयाँ राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ साहित्यकार भट्टराईलाई समर्पण गरेको छ। सीताराम पोखरेलसहितको परिवारले स्थापना गरेको यो पुरस्कार राशिसहित भट्टराईलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो। त्यस्तै, मनमाया दाहालसहितको परिवारद्वारा स्थापित १५ हजार रुपैयाँ राशिकै ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा. कौशिला रिसाललाई प्रदान गरिएको छ।

समारोहमा अग्रज साहित्यकार मधु पोखरेललाई ‘छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार’ बाट पुरस्कृत गरियो। उनलाई ११ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो। यस्तै, बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार’ इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरिएको छ।

प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने र साहित्यकार सरला चापागाईं लगायतले स्रष्टाहरूलाई पुरस्कार समर्पण गरेका थिए। कार्यक्रमका वक्ताहरूले मुक्तक विधाको उत्थानमा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको चर्चा गरे। प्रतिष्ठानले नियमित रूपमा गोष्ठी, कृति प्रकाशन र स्रष्टा सम्मानका कार्यक्रम गर्दै आएको महासचिव मदन भण्डारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.