देशभरका ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १५:४२

काठमाडौँ । सरकारले आगामी आइतबारदेखि देशभरका ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप दिने भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यसपटक कक्षा ६ मा अध्ययनरत र विद्यालय नजाने १० वर्ष उमेरका बालिकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यसअघि अभियानका रूपमा सञ्चालन गरिएको यो खोपलाई अहिले सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको छ। खोप शाखा प्रमुख डा. अभियान गौतमले बताएअनुसार गत वर्ष १६ लाख किशोरीलाई लक्षित गरी चलाइएको अभियानमा ९४ प्रतिशत सफलता मिलेको थियो। यसपटक खोप वितरण प्रक्रियालाई सहज र प्रभावकारी बनाउन विद्यालय र स्वास्थ्य संस्थाहरूमा नै खोप केन्द्र स्थापना गरिनेछ।

Advertisement

नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर एक मानिन्छ। यो क्यान्सर मुख्यतया ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणका कारण हुने गर्दछ। विशेषगरी छालाको सम्पर्कबाट सर्ने यो भाइरसका २०० भन्दा बढी प्रजाति भए पनि १६ र १८ नम्बरका प्रजाति ८० प्रतिशत क्यान्सरका लागि जिम्मेवार मानिन्छन्।

तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब २ हजार १६९ महिलामा यो क्यान्सर देखिने गरेको छ भने १ हजार ३१३ जनाको यसकै कारण मृत्यु हुने अनुमान छ। चिकित्सकहरूका अनुसार योनीबाट गन्हाउने पानी आउने, महिनावारी सुकिसकेका महिलामा रगत देखिने र पेट दुख्ने जस्ता लक्षण देखिएमा सतर्क हुनुपर्छ। कलिलो उमेरमा विवाह गर्ने, धेरै बच्चा जन्माउने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने महिलामा यसको जोखिम बढी हुन्छ।

यो खोपले पाठेघरको मुखको क्यान्सर मात्र नभई गुदद्वार, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट समेत सुरक्षा प्रदान गर्ने चिकित्सकहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×