त्रिभुवन विश्वविद्यालयलाई दोहोरो उपाधि

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार २०:२४
त्रिभुवन विश्वविद्यालयलाई दोहोरो उपाधि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्‌घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र वृद्धिको पाटोका रूपमा लिइने धारणा व्यक्त गर्दै जित हारभन्दा पनि माथि उठेर सहभागीलाई खेल भावना प्रदर्शन गर्न आग्रह गरे ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले विश्वविद्यालय खेलकुदको आकर्षण बढ्दै गएको बताउँदै आगामी दिनमा प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतियोगिता आयोजना गर्न सहकार्य गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको बताउँदै खेलकुदले राष्ट्रिय गौरव अभिवृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन् । २ दिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन् । भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।  विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

निर्णायकको तर्फबाट टेबल टेनिसका पूर्वराष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे र खेलाडीको तर्फबाट दीपेन्द्र अवस्थीले शपथ ग्रहण गरे । थ्री बाइ थ्री बास्केटबलमा त्रिभुवन विश्वविद्यालयले दोहोरो उपाधि जितेको छ । त्रिभुवन पुरुष / महिला दुवैमा च्याम्पियन बन्यो ।

पुरुषको फाइनलमा त्रिभुवनले पूर्वाञ्चल विश्वविद्यालयलाई २१–९ ले पराजित गर्‍यो । महिलाको उपाधि भिडन्तमा त्रिभुवनले काठमाडौं विश्वविद्यालयलाई १५–४ ले हरायो । पुरुषमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तथा महिलामा पूर्वाञ्चलले तेस्रो भए ।

टेबलटेनिसको पुरुष सिंगलमा त्रिभुवन विश्वविद्यालयका हिमाल विष्ट र सुजन गडाला, पूर्वाञ्चल विश्वविद्यालयका श्रृजल सुवाल तथा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका आयुश बम सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा त्रिभुवनकी वियंका राई र योङ्गी पौडेल तथा काठमाडौं विश्वविद्यालयका आस्मा पाण्डे र स्वस्ति प्रधानले सेमिफाइनल यात्रा तय गरे ।

ब्याडमिन्टनको पुरुष सिंगलमा त्रिभुवनका क्षितिज खनाल, नरेन्द्र बम, त्रिभुवनका दिप्रिस बज्राचार्य र काठमाडौंका श्रीलंकाली थनु सिक्का गुना ओर्डेना सेमिफाइनलमा पुगे ।

त्यसै स्पर्धाको महिलामा त्रिभुवनका रसिला महर्जन र भुवन खेडान तथा काठमाडौंकी प्रसुना खत्री र बिपीकाले सेमिफाइनलमा स्थान बनाए ।

पुरुष भलिबलमा काठमाडौंले लुम्बिनी बुद्ध विश्वविद्यालयलाई ३–१, मध्यपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमाञ्चललाई ३–० तथा त्रिभुवनले गण्डकी विश्वविद्यालयलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । पूर्वाञ्चलले कृषिलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा पुग्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×