सुदूरपश्चिममा बाल मृत्युको गम्भीर अवस्था, बागमती तुलनात्मक रूपमा सुरक्षित

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १७:३६

काठमाडौं । नेपालमा प्रदेशगत रूपमा बालस्वास्थ्यको अवस्था अझै असमान रहेको तथ्य राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार नवजात शिशु, शिशु तथा ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च रहेको छ भने बागमती प्रदेशमा तुलनात्मक रूपमा कम पाइएको छ । सर्वेक्षणले देखाएअनुसार सुदूरपश्चिम प्रदेशमा प्रत्येक १ हजार नवजात शिशुमध्ये २६ जनाको मृत्यु हुने गरेको छ । यो दर देशकै उच्च हो ।

यसको ठीक विपरीत बागमती प्रदेशमा नवजात शिशु मृत्यु दर प्रतिहजार १० मात्र रहेको छ । जुन सबैभन्दा कम हो । नवजात शिशु मृत्यु दरले स्वास्थ्य सेवा, सुत्केरी हेरचाह, पोषण र मातृ स्वास्थ्यको समग्र अवस्था झल्काउने भएकाले सुदूरपश्चिमको अवस्था गम्भीर चुनौतीका रूपमा देखिएको छ ।

शिशु मृत्यु दर अर्थात् एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुहरूको अवस्थासमेत सुदूरपश्चिममै सबैभन्दा खराब देखिएको छ । तथ्यांक अनुसार सुदूरपश्चिममा प्रतिहजार ३८ शिशुको मृत्यु हुने गरेको छ । बागमती प्रदेशमा भने यो संख्या प्रतिहजार १७ मा सीमित छ । यसले प्रदेशगत स्वास्थ्य पूर्वाधार, पहुँच र सचेतनामा ठूलो अन्तर रहेको संकेत गर्छ ।

५ वर्षमुनिका बालबालिकाको मृत्यु दरको अवस्थासमेत उस्तै छ । सुदूरपश्चिम प्रदेशमा प्रतिहजार ४८ बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको तथ्यांक छ, जुन देशकै उच्च हो ।

सबैभन्दा कम मृत्यु दर गण्डकी प्रदेशमा देखिएको छ । जहाँ प्रतिहजार २० बालबालिकाको मात्र मृत्यु हुने गरेको छ । समग्र देशको औसत अवस्था हेर्दा ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रतिहजार ३१ रहेको छ भने नवजात शिशुको १ महिना नपुग्दै मृत्यु हुने संख्या प्रतिहजार १७ रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणले बाल पोषणको अवस्थालाई पनि उजागर गरेको छ । ५ वर्षमुनिका बालबालिकामध्ये २४.३ प्रतिशत कम तौलका छन् भने ३१.५ प्रतिशत बालबालिकाको उचाइ उमेरअनुसार कम रहेको छ ।

उचाइअनुसार तौल नपुगेका अर्थात् दुब्ला बालबालिकाको प्रतिशत ७.६ रहेको छ । उमेरअनुसार तौल नपुगेका बालबालिका सबैभन्दा बढी मधेश प्रदेशमा देखिएका छन् । जहाँ यो दर ३३.२ प्रतिशत छ । बागमती प्रदेशमा भने यो समस्या तुलनात्मक रूपमा कम छ । जहाँ ९.६ प्रतिशत मात्र बालबालिका उमेरअनुसार कम तौलका छन् ।

आमाको दूध खुवाउने अभ्यासमा भने केही सकारात्मक संकेत देखिएका छन् । सर्वेक्षणअनुसार ३ आमामध्ये करिब २ आमाले मात्र आफ्ना बच्चालाई ६ महिनासम्म आमाको दूध खुवाउने गरेका छन् । यसमध्ये सुदूरपश्चिम प्रदेश अग्रस्थानमा रहेको छ । जहाँ ७६.६ प्रतिशत आमाले ६ महिनासम्म मात्र दूध खुवाउने अभ्यास गरेका छन् । त्यसपछि मधेस प्रदेशमा ७२.३ प्रतिशत र कर्णाली प्रदेशमा ७१.६ प्रतिशत रहेको छ ।

खोप र प्रारम्भिक बाल शिक्षामा पनि चुनौती यथावत् देखिएको छ । १२ देखि २३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र पहिलो वर्षभित्र आवश्यक सबै खोप पूर्ण रूपमा लिएको पाइएको छ । त्यस्तै ३६ देखि ५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत मात्र प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने गरेका छन् । जसले प्रारम्भिक सिकाइ र विकासमा ठूलो संख्या बालबालिका अझै बाहिरै रहेको देखाउँछ ।

त्यसैगरी सर्वेक्षणले कुल प्रजनन दरसमेत सार्वजनिक गरेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका प्रति महिलाले औसत १.९ जीवित सन्तान जन्माएको तथ्यांकले नेपालमा प्रजनन दर प्रतिस्थापन तह नजिक पुगेको संकेत गर्दछ ।

समग्रमा हेर्दा नेपाल बहुसूचक सर्वेक्षणले प्रदेशगत रूपमा बालस्वास्थ्य, पोषण, खोप र शिक्षामा गहिरो असमानता रहेको स्पष्ट पारेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा नवजात शिशु र बाल मृत्यु दर उच्च हुनुले त्यहाँ लक्षित स्वास्थ्य सेवा, पोषण कार्यक्रम र पहुँच विस्तारको तत्काल आवश्यकता रहेको देखाउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.