
झापा । झापाको कमल गाउँपालिकाको एक घरको सिँढीबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।
कमल गाउँपालिका–७ ठुलो बाह्रघरे पशुपति टोलस्थित मामा घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको लडेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिकामा घर भई विगत डेढ वर्षदेखि मामा राजकुमार ताजपुरियाको घरमा बस्दै आएका विजय राजवंशीका छोरा युसको मंगलबार अपराह्न ४ : ३० बजेतिर पक्की एक तले घरको सिँढीबाट अचानक लडेर गम्भीर घाइते भएका थिए ।
घाइते राजवंशीलाई उनका मामाले तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले चेकजाँच गर्ने क्रममा साँझ ५ः४० बजे उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव दमक अस्पतालमा राखेर राखिएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राई नेतृत्वको टोली घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।























