विश्व रेडियो दिवस : पहुँच, विश्वास र लोकतान्त्रिक संवादको सबल आधार

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार ०७:३५

काठमाडौं । विश्व रेडियो दिवस आज (शुक्रबार) विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ । रेडियोसँग प्रत्यक्ष सरोकार राख्ने सञ्चारकर्मी, प्रसारक, सञ्चार विज्ञ तथा नीति–निर्माताहरूले यसको भूमिका, चुनौती र सम्भावनाबारे छलफल गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको अगुवाइमा सन् २०१२ देखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । सन् १९४६ मा स्थापना भएको राष्ट्रसंघीय रेडियो सेवाको स्मरणमा फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाइँदै आएको छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, नीति निर्माताहरूलाई सूचना पहुँचको दायित्वबारे सचेत गराउनु, स्वतन्त्र र दिगो प्रसारणको वातावरण सुदृढ गर्नु तथा विश्वभरका प्रसारकहरूबीच सहकार्य बढाउनु यस दिवसको मुख्य उद्देश्य हो ।

डिजिटल प्रविधिको तीव्र विकाससँगै रेडियो पनि रूपान्तरणको चरणमा प्रवेश गरेको छ । युनेस्कोले डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री र जनचेतनामूलक कार्यक्रम श्रोतासमक्ष पुर्याउने लक्ष्यसहित विभिन्न पहल अघि बढाएको छ ।

रेडियोलाई मानव समाजको विविधतालाई उत्सवका रूपमा प्रस्तुत गर्ने सशक्त माध्यमका रूपमा लिइन्छ । साक्षरता दर कम भएका समुदायदेखि उच्च शिक्षित वर्गसम्म सबैका लागि सहज पहुँचयोग्य सञ्चार माध्यम भएकाले यसको प्रभाव व्यापक छ । तर, आधुनिकता र प्रविधिको विकासले निक्कै चुनौती थपिरहेको छ ।

न्यून लागत, सरल प्रविधि र भौगोलिक अवरोध पार गर्ने क्षमताले रेडियोलाई अन्य माध्यमभन्दा विशिष्ट बनाएको छ । दुर्गम बस्ती, हिमाली क्षेत्र, सीमान्तकृत समुदाय र जोखिममा रहेका समूहसम्म सूचना पुर्याउन रेडियो प्रभावकारी साधनका रूपमा स्थापित भएको छ ।

लोकतान्त्रिक संवादका दृष्टिले पनि रेडियो महत्वपूर्ण मञ्च हो । खुला बहस, प्रत्यक्ष फोन–इन कार्यक्रम, जनप्रतिनिधि र नागरिकबीच संवाद तथा स्थानीय मुद्दामाथि छलफल जस्ता कार्यक्रममार्फत रेडियोले नागरिक सहभागिता बढाएको छ । सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने र विभिन्न दृष्टिकोण प्रस्तुत गर्ने प्लेटफर्मका रूपमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो रहेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

विपद् व्यवस्थापन र आपतकालीन सूचना प्रवाहका सन्दर्भमा रेडियोको भूमिका झन् महत्वपूर्ण देखिन्छ । भूकम्प, बाढी, पहिरो, महामारीजस्ता परिस्थितिमा इन्टरनेट वा टेलिभिजन पहुँच नभएका स्थानमा समेत रेडियोले जीवनरक्षक सूचना पुर्याएको उदाहरण प्रशस्त छन् । न्यून प्राविधिक संरचनामै सञ्चालन गर्न सकिने भएकाले संकटको समयमा रेडियो भरपर्दो माध्यम बन्ने गरेको छ ।

युनेस्कोले रेडियो स्टेशनहरूले आफ्नो सामग्री र संरचनामा श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिएको छ । विभिन्न जातीय, भाषिक, लैंगिक र सांस्कृतिक समूहको प्रतिनिधित्व हुने कार्यक्रम निर्माण गर्नु रेडियोको दायित्व रहेको उसले उल्लेख गरेको छ । यसले सामाजिक समावेशिता र समान अवसरको अभ्यासलाई मजबुत बनाउँछ । समुदायमा रहेका सबै आवाजलाई बोल्ने, सुन्ने र प्रतिनिधित्व हुने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

डिजिटल युगमा प्रवेशसँगै रेडियोको स्वरूप परिवर्तन हुँदै गएको छ । परम्परागत एफएम प्रसारणसँगै अनलाइन स्ट्रिमिङ, पोडकास्ट, मोबाइल एप र सामाजिक सञ्जालमार्फत सामग्री वितरणको अभ्यास बढेको छ । तर, केही चुनौतीहरु भने थपिएका छन् । यसले युवा पुस्तालाई पनि रेडियोतर्फ आकर्षित गरेको छ । तथापि, विश्वका धेरै स्थानमा इन्टरनेट पहुँच सीमित भएकाले परम्परागत रेडियो अझै पनि सूचना पहुँचको मुख्य आधार बनेको छ ।

नेपालजस्ता भौगोलिक विविधता र दुर्गमता भएको देशमा रेडियोको प्रभाव अझ व्यापक देखिन्छ । स्थानीय एफएम र सामुदायिक रेडियोहरूले स्थानीय भाषा र मुद्दालाई प्राथमिकता दिँदै नागरिकका दैनिक सरोकारलाई उजागर गर्दै आएका छन् । कृषि, स्वास्थ्य, शिक्षा, विपद् चेतावनी, रोजगारी, महिला सशक्तीकरण र स्थानीय शासनसम्बन्धी कार्यक्रममार्फत ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुगेको छ ।

विश्व रेडियो दिवसको अवसरमा सञ्चार क्षेत्रका सरोकारवालाहरूले स्वतन्त्रता, विश्वसनीयता र दिगोपनाको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन् । प्रविधिगत विकाससँगै सामग्रीको गुणस्तर, तथ्यपरकता र उत्तरदायित्व कायम राख्नु अहिलेको प्रमुख चुनौतीका रूपमा देखिएको छ । साथै, गलत सूचना र दुष्प्रचारको जोखिम बढिरहेका बेला विश्वसनीय स्रोतका रूपमा रेडियोको भूमिकालाई थप सुदृढ बनाउनु आवश्यक रहेको विज्ञहरूको धारणा छ ।

सूचना प्रवाहको तीव्र प्रतिस्पर्धाका बीच पनि रेडियोले आफ्नो विश्वसनीयता, सरलता र पहुँचका कारण अलग पहिचान बनाएको छ । मानव आवाजको आत्मीयता र प्रत्यक्ष संवादको अनुभूतिले श्रोतासँग गहिरो सम्बन्ध निर्माण गर्ने क्षमता रेडियोमा रहेको छ । यही विशेषताले रेडियोलाई समयानुकूल रूपान्तरण गर्दै पनि सान्दर्भिक बनाइराखेको छ ।

शुक्रबार मनाइँदै गरिएको विश्व रेडियो दिवसले रेडियोलाई विगतको स्मरणीय माध्यम मात्र नभई वर्तमान र भविष्यको पनि सशक्त सञ्चार उपकरणका रूपमा पुनः पुष्टि गरेको छ । सूचना, शिक्षा र मनोरञ्जनका माध्यमबाट समाजलाई जोड्ने सेतुका रूपमा रेडियोको भूमिका अझ सुदृढ र प्रभावकारी बनाउन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.