पाकिस्तानलाई पराजित गर्दै भारत सुपर ८ मा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ४, सोमबार ०८:५३

काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२६ मा पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो ।

Advertisement

पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए । शाहीन अफ्रिदीले अविजित २३ रन बनाए भने शादाब खानले १४ अनि फहीम असरफले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्या, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा कुलदीप यादव र तिलक वर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।
कप्तान सूर्यकुमार यादवले ३२, शिवम दुबेले २७ तथा तिलक वर्माले २५ रन बनाए । पाकिस्तानका लागि सायम अयुबले ३ विकेट लिए । सलमान आघा, शाहीन अफ्रिदी र उसमान तारिकले १-१ विकेट लिए ।

जितसँगै भारत ३ खेलमा ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पाकिस्तान ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा झरेको छ । भारतले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ भने पाकिस्तानले नामिबियासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.