विश्व फुटबलमा इन्फान्टिनोको योजना स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ०६:४८

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्वको हिस्सा दिने योजना अन्ततः स्थगित गरेको छ ।

विभिन्न महादेशका फुटबल महासंघबाट चर्को विरोध भएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो आफ्नो विवादास्पद प्रस्तावबाट पछि हटेका हुन् । इन्फान्टिनोले फुटबल समुदायभित्र अनावश्यक विभाजन सिर्जना हुने अवस्था देखिएपछि प्रस्ताव अगाडि नबढाउने निर्णय गरिएको बताएका छन् । उनका अनुसार यो योजना अब फुटबलको साझा हितअनुकूल नरहेको निष्कर्षमा फिफा पुगेको छ ।

Advertisement

फिफाले पुरुष तथा महिला विश्वकपलगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने अवधारणा अघि सारेको थियो । त्यसको समर्थन गर्ने सर्तमा फिफाका २११ सदस्य राष्ट्रिय फुटबल संघलाई ४० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावसमेत गरिएको थियो ।

तर, युरोपेली फुटबल महासंघ (यूईएफए) अन्तर्गतका ५५ सदस्य राष्ट्रले उक्त योजनाको कडा विरोध जनाउँदै प्रस्ताव कार्यान्वयन गरिए विश्वकप बहिष्कारसम्म गर्न सकिने चेतावनी दिएका थिए । त्यसपछि फिफामाथि चर्को दबाब परेको थियो ।

विवाद थप चुलिँदा फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरले समेत संस्थाको प्रशासनलाई यस परियोजनाका बारेमा पर्याप्त जानकारी नदिइएको बताएका छन् । यस्तै, फिफाका विश्वव्यापी रणनीति तथा सुशासनसम्बन्धी वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले पदबाट राजीनामा दिँदै उक्त योजनालाई फुटबलका लागि हानिकारक सम्झौता भएको टिप्पणी गरेका छन् । उनका अनुसार यसले फुटबलको दीर्घकालीन भविष्य नै जोखिममा पार्ने अवस्था सिर्जना गर्ने थियो ।

उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल महासंघ कन्काकाफले पनि आफ्ना सदस्यहरूले प्रस्ताव अस्वीकार गरेको जनाएको छ । स्रोतहरूका अनुसार त्यस क्षेत्रका धेरै सदस्य संघले इन्फान्टिनोको नेतृत्वप्रति विश्वास गुमाउँदै गएका छन् ।

एशियाली फुटबल महासंघ (एएफसी)ले पनि यूईएफए र कन्काकाफको अडानलाई समर्थन गरेको छ । यसबीच बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले इन्फान्टिनोलाई फिफाको नेतृत्वका लागि उपयुक्त व्यक्ति नरहेको टिप्पणी गरेका छन् ।

५६ वर्षीय इन्फान्टिनो आगामी मार्चमा हुने फिफा कंग्रेसमा चौथो कार्यकालका लागि अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने तयारीमा छन् । तर, निजीकरणको प्रस्ताव फिर्ता लिन बाध्य भएपछि उनको नेतृत्वमाथि थप प्रश्न उठ्न थालेका छन् ।

प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले अब सबै सरोकारवालाबीच विश्वास पुनःस्थापित गर्दै फुटबलको साझा हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.