
काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यो फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारेर देशभरका हलहरूमा प्रदर्शन हुने भएको हो।
फिल्मले वर्तमान समयमा युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश पलायन हुँदा रित्तिएका पहाड र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक संकटको कथालाई मुख्य विषयवस्तु बनाएको छ। निर्देशक घिमिरेले समाजको तीतो यथार्थलाई स–परिवार बसेर हेर्न मिल्ने गरी तयार पारिएको बताए। उनले वितरकसँगको सल्लाह र अन्तर्राष्ट्रिय प्रदर्शनको समयलाई मध्यनजर गर्दै यो मिति तय गरिएको जानकारी दिए।
यस फिल्ममा लामो समयपछि निर्देशक घिमिरेले पुराना र स्थापित कलाकारहरूसँग सहकार्य गरेका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री र सलोना बज्राचार्य जस्ता कलाकारहरूको अभिनय रहेको छ। विशेष कुरा त, निर्देशक घिमिरेले यसै फिल्ममार्फत आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यू गराउँदैछन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
ओजस्वी केसी निर्माता रहेको यो फिल्मलाई अनुभवी छायाँकार प्रमोद प्रधानले खिचेका हुन्। प्रमोदले यसअघि घिमिरेसँग ‘चिनो’, ‘दक्षिणा’, ‘कोसेली’ जस्ता सदावहार फिल्महरूमा सहकार्य गरिसकेका छन्। फिल्ममा रञ्जित गजमेरको सङ्गीत र भारती घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको यो फिल्मलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन्।



















