विराटनगरमा १९औं बृहत भेला गर्दै विराट राजवंशी समुदाय

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १९:३६

विराटनगर । विराटनगरमा विराट राजवंशी समुदायले आफ्नो पहिचान, अधिकार र मान्यताको मागलाई पुनः सशक्त रूपमा अघि सार्दै १९औं बृहत भेला आयोजना गर्ने भएको छ ।

राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिको आयोजनामा बुधबार हुने भेलालाई समुदायले आन्दोलनकै निरन्तरता र एकताको सार्वजनिक प्रदर्शनका रूपमा लिएको छ । समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार प्रत्येक वर्ष फागुन ६ गते समुदायले बृहत भेला गर्दै आएको छ ।

यसलाई अब औपचारिक र सामुदायिक पर्वकै रूपमा विकास गर्ने तयारी गरिएको उनले बताए । उनका अनुसार भेला औपचारिक कार्यक्रम नभई समुदायको अस्तित्व, अधिकार र ऐतिहासिक पहिचानसँग जोडिएको अभियान हो ।

विगतका वर्षहरूमा खुला मैदानमा हजारौंको सहभागितामा आयोजना हुँदै आएको भेला यसवर्ष भने निर्वाचन आचारसंहितालगायतका संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सभाहलभित्र गर्ने निर्णय गरिएको छ । यसपटकको कार्यक्रम विराटनगरस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजना गरिने छ ।

आयोजकहरूले सीमित स्थान भए पनि सन्देश र संकल्प अझै स्पष्ट रूपमा प्रस्तुत गरिने दाबी गरेका छन् । विराट राजवंशी समुदायले लामो समयदेखि आफूलाई पृथक जातीय पहिचान, भाषिक विशेषता, सांस्कृतिक सभ्यता र ऐतिहासिक सम्पदासहितको समुदायका रूपमा मान्यता दिनुपर्ने माग गर्दै आएको छ ।

मुख्य माग भनेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमार्फत आदिवासी जनजातिको सूचीमा औपचारिक रूपमा सूचीकृत गरिनु हो । आफूहरूको मौलिक भाषा, जीवनशैली, संस्कार–संस्कृति र ऐतिहासिक उपस्थिति हुँदाहुँदै पनि राज्यले अझैसम्म औपचारिक मान्यता नदिएको गुनासो समुदायका अगुवाहरूको छ ।

समितिले कोशी प्रदेश सरकारबाट आफूहरूलाई मूल आदिवासीका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्याएको छ । साथै, ऐतिहासिक आधार र बसोबासको निरन्तरताका आधारमा विराटनगरलाई ‘विराट राजवंशीको थलो’ घोषणा गर्नुपर्ने मागसमेत अघि सारेको छ । समुदायका प्रतिनिधिहरूका अनुसार विराटनगर, कटहरी, जहदा र बुढीगंगालगायत क्षेत्रहरूमा राजवंशीहरूको उल्लेख्य बसोबास छ ।

भेलामार्फत समितिले समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि जोडदार रूपमा उठाउने तयारी गरेको छ । राज्यका विभिन्न निकाय, स्थानीय तह, प्रदेश र संघीय संरचनामा राजवंशी समुदायको प्रतिनिधित्व अत्यन्त न्यून रहेको अगुवाहरुको भनाइ छ । आरक्षण र विशेष व्यवस्थामार्फत शिक्षा, रोजगारी तथा प्रशासनिक क्षेत्रमा अवसर सुनिश्चित गरिनुपर्ने माग पनि भेलाको एजेन्डामा रहनेछ ।

यसै सन्दर्भमा समितिले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिकालाई समेटेर ‘विराट राजवंशी स्वायत्त परिषद्’ का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । स्वायत्त संरचनामार्फत भाषा, संस्कृति, परम्परा र सामाजिक संरचनाको संरक्षण र प्रवर्द्धन प्रभावकारी रूपमा गर्न सकिने समितिको ठहर छ ।

समितिले बृहत भेलाको दिनलाई स्वायत्त क्षेत्रभित्र सार्वजनिक बिदा दिनुपर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । यसले समुदायको सांस्कृतिक पहिचानलाई औपचारिक मान्यता दिने र नयाँ पुस्तामा आत्मगौरव बढाउने विश्वास आयोजकको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.