
मोरङ । बेलबारीका साहित्यकार नवराज पोखरेल ‘नवशिला’को तेस्रो कृति ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) लोकार्पण गरिएको छ । कोशी साहित्य–कला परिषद् नेपालले आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।
बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा भीम खतिवडा थिए । कृतिको खतिवडासँगै कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा.दीपकप्रसाद न्यौपाने, बेलबारीका अग्रज स्रष्टा हर्कमान तामाङ, लेखक नवशीला तथा उनका पिता लक्ष्मीप्रसाद पोखरेल र माता दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट कृतिको लोकार्पण गरिएको थियो ।
लोकार्पित कृतिको समीक्षा डाक्टर दीपकप्रसाद न्यौपानेले गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानका नेपाली विभाग प्रमुखसमेत रहेका न्यौपानेले ‘सिलसिला भित्रका मुक्तकले विविध विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताए ।
कार्यक्रममा युवा कवि सिजन श्रेष्ठले लेखकको जीवनी तथा व्यक्तित्वको सङ्क्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले कृतिकारको साहित्यिक सक्रियताको खुलेर प्रसंसा गर्दै यसको निरन्तरताको कामनासमेत गरे ।
कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले संस्थाले फरकशैलीबाट कार्यक्रम अघि बढाएको बताए ।
कृतिकार पोखरेलले आफूलाई लेखक बनाउनमा आफ्नी धर्मपत्नी शिला भण्डारीको ठुलो हात रहेको बताए ।
कार्यक्रममा असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव एवम् सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा डाक्टर नरेन्द्र चापागाईँ साहित्य प्रतिष्ठानका अध्यक्ष, अग्रज स्रष्टा सरला चापागाईँ, विराट साहित्य सङ्गम, विराटनगरका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, लेटाङ साहित्य कला सङ्गमका निवर्तमान अध्यक्ष डिल्लीराम ओझा, विराट मैथिल नाट्य कला परिषद् विराटनगरका अध्यक्ष डोमी कामत, नोबेल साहित्य साकोसका उपाध्यक्ष भूपाल अधिकारीलगायतका स्रष्टाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाबुराम पोखरेल, नीकिशारानी पोखरेल, एकराज भट्टराई, मन्दिरा चापागाईँ, सुन्दर भट्ट, भूपाल अधिकारी, शिव पराजुली, नानुमाया दाहाललगायतका स्रष्टाले लोकार्पित कृतिभित्रका रचना वाचन गरेका थिए ।























