
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८३ सालको पात्रोमा २५ वटा नयाँ चाडपर्व, दिवस र जात्रा समावेश गरेको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार विभिन्न संघ–संस्था र स्थानीय तहबाट सिफारिस भई मापदण्ड पूरा गरेका पर्वहरूलाई एकैपटक पात्रोमा समेटिएको हो । राष्ट्रिय सूचना दिवस, ललितकला दिवस र हस्तकला दिवसदेखि कर्णाली प्रदेशका परम्परागत पर्वसम्म नयाँ रूपमा समावेश गरिएका छन् ।
वैशाख १ गते तागा संक्रान्ति र खात बिहु, वैशाख २ गते ललितकला दिवस तथा वैशाख ६ गते खात बिहु समाप्ति राखिएको छ । भदौ ३ मा राष्ट्रिय सूचना दिवस र भाद्र २० मा बाबा गणीनाथ पूजनोत्सव समावेश गरिएको छ ।
कात्तिक संक्रान्तिमा काति बिहु, कात्तिक २ मा जनबहाः कुछि भ्वय्, कात्तिक ६ मा तागा सेलाउने तथा कात्तिक २३ मा धुकु लक्ष्मी द्योः पूजा थपिएका छन् । मंसिर, पुस र माघ महिनामा पनि विभिन्न जात्रा र पर्व समेटिएका छन् । जसमा उरूका, भोगाली बिहु, ठूली भैली र चेल्यातिहार उल्लेखनीय छन् ।
फागुन र चैत महिनामा तोन्पा जयन्ती, बारुवा, विक्षेति र चैतेली पर्व राखिएको छ । समितिका सदस्य डा. देवमणि भट्टराईका अनुसार कुनै पनि चाडपर्व समावेश गर्न ऐतिहासिकता, सामाजिक मान्यता, आधिकारिक सिफारिस र शास्त्रीय आधारलगायत ६ मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । समितिले स्वीकृतिबिना पात्रो वा क्यालेन्डर प्रकाशन गरेमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।























