विद्यार्थीद्वारा  ‘बाटो बिराएको बादल’ नाटक मञ्चन 

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १७:४७
विद्यार्थीद्वारा  ‘बाटो बिराएको बादल’ नाटक मञ्चन 

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका विद्यार्थीले बुधबार एक सन्देशमूलक नाटक  ‘बाटो बिराएको बादल’ सफलतापूर्वक मञ्चन गरेका छन् । विराटनगरको आरोहण गुरुकुलमा मञ्चन गरिएको उक्त नाटकमा विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ जना विद्यार्थीले जीवन्त अभिनय प्रस्तुत गरेका थिए ।

कक्षा ९ का दिवस न्यौपानेको निर्देशनमा तयार पारिएको यस नाटकको लेखक रचना सापकोटा हो भने व्यवस्थापन साइमन कार्कीले गरेका हुन् । बुधबार नाटकका दुई वटा सोहरू सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईले जानकारी दिए ।

नाटकले विशेष गरी अभिभावकको बेवास्ता र समय दिन नसक्दा विद्यालय उमेरकी छोरीले भोग्नुपर्ने मानसिक पीडा, समस्या र त्यसबाट निम्तिन सक्ने सम्भावित दुर्घटनालाई कथाको रूपमा प्रस्तुत गरेको छ । अभिभावकीय जिम्मेवारीको अभाव र प्रशासनको उदासीनताले एउटा निर्दोष छात्राको भविष्य कसरी अन्धकारतर्फ धकेलिन्छ भन्ने गम्भीर विषयलाई विद्यार्थीहरूले मञ्चमार्फत सशक्त रूपमा उठाएका छन् ।

नाटक हेर्न पुगेका प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको अभिनय मर्मस्पर्शी र मन छुने रहेको बताए । उनले सानै उमेरमा विद्यार्थीहरूले यस्तो गम्भीर र सामाजिक महत्त्वको विषयमा उत्कृष्ट प्रस्तुति दिनु प्रशंसनीय रहेको उल्लेख गरे ।

त्यस्तै, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरूले समसामयिक र गहन विषयवस्तुलाई नाटकमार्फत उजागर गरेकोमा प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल राईले मोर्डन एरा स्कुलले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै उनीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन र अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सधैँ जोड दिँदै आएको बताए । नाटकले उपस्थित अभिभावक र दर्शकहरूलाई भावुक बनाउनुका साथै सोच्न बाध्य बनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.