
वीरेन्द्रनगर। सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा १८ वर्षीय सुरेन्द्र शाही, १९ वर्षीय असिम सावद र १८ वर्षीय प्रकाश सुनार रहेका छन्।
शाही कालिकोटको शुभकालिका गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–१० एयरपोर्ट बस्दै आएका थिए। त्यस्तै सावद दैलेख घर भई एयरपोर्टमै बस्ने कक्षा १२ का विद्यार्थी हुन् भने सुनार दैलेख घर भई वीरेन्द्रनगर–११ पिपिरामा बसी कक्षा १२ मै अध्ययनरत छन्।
खुकुरी देखाउँदै भिडियो पोस्ट गरी सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताए। प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति भङ्गसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको बताए।























