
काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी सद्भाव, मेलमिलाप र उल्लासको सन्देश बोकेको फागुपूर्णिमा पर्व आज (सोमबार) हिमाली तथा पहाडी जिल्लाहरूमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले समाजमा रंगीन उमंग थप्दै मानिसहरूलाई एकअर्कासँग नजिक ल्याउने काम गर्दै आएको छ । पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी जिल्लामा बिहानैदेखि युवायुवती, बालबालिका र वृद्धवृद्धासमेत एकापसमा रङ, अबिर र लोला खेल्दै उत्सवमा सरिक हुने गर्छन् ।
केही वर्षअघिसम्म उत्ताउलो र अव्यवस्थित रूपमा मनाइने होली पछिल्लो समय भने संयमित र सभ्य बन्दै गएको देखिएको छ । सुरक्षाकर्मीको सक्रियता, सचेतना अभियान र सामाजिक सञ्जालमार्फत फैलाइएको सन्देशका कारण यस वर्षको होली तुलनात्मक रूपमा मर्यादित रहने अपेक्षा गरिएको छ ।
विशेष गरेर फागुन २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै यसवर्ष सार्वजनिक रुपमा होली पर्व नमनाउन सरकारले आह्वान गरेको छ । घुसपैठ हुन सक्ने र त्यसले निर्वाचनमा असर पार्न सक्ने सम्भावनाका कारण घरपरिवारभित्र सीमित तरिकाले होली मनाउन सरकारले आग्रह गरेको हो ।
काठमाडौंको ऐतिहासिक वसन्तपुर क्षेत्रमा परम्पराअनुसार गाडिएको चिर सोमबार विधिपूर्वक ढालिन्छ । फागुन शुक्ल अष्टमीका दिन गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकाले सिँगारी गाडिएको चिरमा पूजाआजा गरी फागु पर्वको औपचारिक सुरुवात गरिन्छ ।
पूर्णिमाका दिन उक्त चिरलाई बाजागाजासहित टुँडिखेल लगेर दाहसंस्कार गर्ने चलन छ । चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वास गरिन्छ भने त्यसको खरानी निधारमा लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास रहँदै आएको छ ।
सोमबार राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र राँगाको मासु चढाउने गरिन्छ । इटुम्बहालदेखि कुनै ठाउँमा नराखी ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रचलन अझै जीवित छ । यी सम्पूर्ण गतिविधिले उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाइरहेको छ ।
फागुपूर्णिमासँग जोडिएका पौराणिक कथाहरूले पनि यस पर्वको धार्मिक महत्व उजागर गर्छन् । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न खोज्दा आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादसँगै दन्किरहेको आगोमा पठाएको कथा प्रचलित छ । तर, होलिका स्वयं भष्म भइन् भने भक्त प्रह्लाद सुरक्षित रहे । शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य भएको प्रतीकका रूपमा त्यसयता होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
त्यसैगरी, द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिएको र व्रजवासीले उनलाई दाहसंस्कार गरी उत्सव मनाएको प्रसंग पनि धर्मग्रन्थमा उल्लेख छ । यसले असत्य र अधर्ममाथि सत्यको विजयको सन्देश बोकेको छ ।
आयुर्वेदका दृष्टिकोणबाट पनि फागु पर्वको आफ्नै महत्व रहेको बताइन्छ । राम्रोसँग तयार पारिएका प्राकृतिक रङ तथा अबिरले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ । जाडोयाममा शरीरमा संचित कफको प्रभाव कम गर्न र चिर दहनबाट उत्पन्न धुवाँले कीटाणु नष्ट गर्न मद्दत गर्ने धारणा आयुर्वेदविद्हरूको छ ।
सरकारले फागुपूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । हिमाल र पहाडमा पूर्णिमाकै दिन होली मनाइए पनि तराई क्षेत्रमा भने भोलिपल्ट मनाउने परम्परा छ । यस वर्ष पनि तराईका जिल्लामा मंगलबार होली मनाइँदैछ । त्यो दिन तराई क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ ।
विगतमा होलीका नाममा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, जबर्जस्ती रासायनिक रङ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हान्ने जस्ता विकृति देखिँदै आए पनि पछिल्ला वर्षहरूमा यस्ता गतिविधि घट्दो क्रममा छन् । सामाजिक चेतना, कानुनी कारबाही र नागरिक सचेतनाका कारण पर्व क्रमशः मर्यादित बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
नेपालका विभिन्न जातजाति र समुदायले पनि फागुलाई आआफ्नो मौलिक शैलीमा मनाउने गरेका छन् । थकाली समुदाय रङ्गीबिरङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तीर हान्ने प्रतियोगिता आयोजना गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा परिकार खाने, नाचगान गर्ने र पारिवारिक सम्बन्ध सुदृढ बनाउने चलन छ ।
रङको पर्व नेपाल र भारतबाहेक अन्य देशमा पनि फरकफरक नाम र शैलीमा मनाइने गरेको पाइन्छ । कतिपय देशमा सुगन्धित जल छर्केर, कतै आगो वा पानीको पूजा गरेर, कतै नयाँ अन्नको स्वागत गर्दै नाचगान गरेर यो पर्व मनाइन्छ । नाम र विधि फरक भए पनि यसको मूल भावना भने समान देखिन्छ । आपसी सद्भाव, सामाजिक एकता र नयाँ ऋतुको स्वागत यसको मूल भावना हो ।
यस वर्षको फागुपूर्णिमाले नेपाली समाजमा उत्साह र उमंग थपेको छ । रंगले रङ्गिएको अनुहार, हाँसोले भरिएको वातावरण र पुराना रिसइबी बिर्सेर एकअर्कालाई अँगालो हाल्ने दृश्यहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छन् ।
फागु रङ खेल्ने पर्व मात्रै नभएर सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो । परम्परा, संस्कृति र आस्थासँग गाँसिएको यो चाडले वर्षौंदेखि नेपाली समाजलाई एकसूत्रमा बाँध्दै आएको छ ।























