
काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा मतदान अधिकृत र असईको मृत्यु भएको छ । मृत्यु हुनेमा असई पर्शुराम यादव र मतदान अधिकृत एवम् शिक्षक डोरप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ ।
निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी रामेछाप नगरपालिका–२ स्थित देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको थियो । दुई वटा बुथका कर्मचारी र सामग्री बोकेर गाडी जाँदै थियो ।
दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी मन्थली विमानस्थलबाट सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको छ। घाइते हुनेमा शिक्षकद्वय भीमबहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, चालक सम्बरबहादुर मानन्धर, दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवारको छाउनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।























