सांकेतिक तस्बिरमहेन्द्रनगर । निर्वाचनको सुरक्षामा खटिएका एक निर्वाचन प्रहरी र सडक दुर्घटनामा परी एक युवक गरी कञ्चनपुरमा आज मंगलबार २ जनाको मृत्यु भएको छ ।
पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भएका राना सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका थिए । उच्च रक्तचाप र मधुमेहका बिरामी रानाको धनगढीस्थित निशर्ग अस्पतालमा ज्यान गएको हो ।
यसैगरी, बेदकोट नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय निरज चौधरीको मृत्यु भएको छ । बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा यो दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धनगढीकै मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई युवक सागर चौधरी र प्रमोद चौधरी घाइते भएका छन् । उनीहरूको हाल धनगढीमा उपचार भइरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएका यी दुःखद घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ ।























