
विराटनगर । बिहीबारको प्रतिनिधिसभा निर्वाचनका लागि सुरु भएको मौन अवधिमा पनि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार र कार्यकर्ताले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ ।
निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसार, पार्टी कार्यालय सञ्चालन वा मतदाता सूची तथा नमुना मतपत्रसँग सम्बन्धित सबै गतिविधि निषेध गरेको छ । तर, कार्यालय खोलेर उम्मेदवार रुविना आचार्यसहितका नेता कार्यकर्ताले काम गरिरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सोही घटनाबारे जानकारी दिने दिपल बञ्जाराका अनुसार मंगलबार पार्टी कार्यालय खोलेर नेता कार्यकर्ताले मतदाता सूची मिलाउने र नमुना मतपत्र तयार पार्ने काम गरिरहेका थिए । ‘रोक्न खोज्दा दुई पक्षीय विवाद भयो । हामीमाथि दुर्व्यवहार गरियो । पछि सशस्त्र प्रहरीले कार्यालय बन्द गराएको हो,’ उनले भने ।
रास्वपा क्षेत्र नम्बर ६ का चुनावी कमाण्डर एवं रुविनाका पति प्रदीप उप्रेतीले भने प्रचारप्रसार नभएर आयोगले उपलब्ध गराएको अनुसूची ९ अन्तर्गतका कागजात प्रतिनिधिलाई हस्तान्तरण गर्न कार्यालय खोलिएको बताए । प्रहरी आएर कार्यालय बन्द गराएको कुरा झुटो भएको उनको भनाइ छ ।
‘जेनजी भन्दै २ जना भाइहरु आएका थिए । उनीहरु परिचालित हुन् जस्तो लाग्यो । अहिले चुनाव हार्ने भएपछि जनतालाई रास्वपाबाट भड्काउन अनेक गतिविधि भइरहेका छन्,’ उप्रेतीले भने । आचारसंहिता उल्लंघनका बारेमा परेको उजुरीलाई लिएर निर्वाचन अधिकारी कसैले पनि आफूलाई फोन नगरेको उनको भनाइ छ । ‘पार्टीलाई फोन आएको भए थाहा भएन । मलाई चैं आएको छैन । आचारसंहिता उल्लंघन पनि गरिएको छैन ।
उनले होलीका नाममा अरु दलले रक्सीसमेत बाँडेर आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाए । ‘हाम्रा उम्मेदवार घरमा बसेका छन् । बाहिर निस्किएका छैनन् । खोज्दै जाने हो भने अरु दलको धेरै उल्लंघन भेटिन्छ,’ उनले भने । रास्वपाविरुद्ध परिचालित मान्छेले कमजोरी भेटिन्छ कि भनेर अनेक फण्डा निकालिरहेको उप्रेतीको आरोप छ ।

निर्वाचन कार्यालय कोशी प्रदेशका अधिकृत चोलाराज दंगालका अनुसार अनुसूची ९ अनुसार मतदान प्रतिनिधि चयन गर्न सकिन्छ । तर, मौन अवधिमा अन्य गतिविधि गर्नु पूर्ण रूपमा निषेध छ । प्रचारप्रसार र नमुना मतपत्रसँग सम्बन्धित काम गर्न नपाइने दंगालको भनाइ छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सरोज कोइरालाका अनुसार मौन अवधिमा यस्तो गतिविधि गरिनु आचारसंहिताको ठाडै उल्लंघन हो । ‘हामीले कडाइ गरिरहेका छौं । उजुरी पर्नासाथ उम्मेदवार वा दलको प्रतिनिधिसँग मौखिक स्पष्टीकरण लिएका छौं । उल्लंघनका गतिविधि बन्द गराएका छौं,’ उनी भन्छन् ।
स्वतन्त्र उम्मेदवार उत्तम दाहालले रास्वपा र उम्मेदवार रुविनाविरुद्ध ४ वटा लिखित उजुरी नै दिइसकेका छन् । दाहालका अनुसार बारम्बार मौखिक उजुरी गर्दा सुनुवाइ नभएपछि लिखित उजुरी दिनु परेको हो । उनले मंगलबार पनि उजुरी गरेका छन् ।
दाहालले भने, ‘उजुरी दिइसकेपछि पनि कारबाही भएको छैन । आचारसंहिता पालनामा अनुगमन गर्ने निकायका अधिकारीहरूले मेरो फोनसमेत उठाउन छाडिदिएका छन् ।’ रास्वपाविरुद्धको उजुरीमा उम्मेदवारले पार्टी ब्यानरभन्दा तल राष्ट्रिय झण्डा राखेको, झन्डाको दुरुपयोग गरेर राजनीतिक लाभ लिएको, प्रचार सामग्रीको अवैध प्रयोग गरेको र आर्थिक अपारदर्शिता लगायतका विषय उल्लेख छन् ।
दाहालले आफूले रास्वपासहित अन्य दल र उम्मेदवारविरुद्ध पनि आचारसंहिता उल्लंघनको उजुरी गरेको बताए । उनले भने, ‘कारबाहीको कुनै सूचना मलाई दिइएको छैन । आयोगले नै उजुरीमाथि बेवास्ता गरिरहेको छ ।’ निर्वाचन आयोगले नियम उल्लंघन भएको देख्दा समेत प्रभावकारी कारबाही नगरेपछि रास्वपाले खुलेआम आचारसंहिता उल्लंघन गरिरहेको दाहाल बताउँछन् ।
‘यदि आयोगको निर्देशन अटेर गरेको वा कानुन नै नबुझिकन चुनावमा उम्मेदवार बनेका हुन् भने भोलिका दिनमा यिनीहरूले कस्तो कानुन बनाउँछन् भन्ने प्रश्न उठ्छ । जानाजान उल्लंघन भए कारबाही हुनैपर्छ । नत्र लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठ्छ,’ दाहालले भने । उजुरीमाथि प्रत्यक्ष र कडा कारबाही नहुँदा रास्वपाको मनोमानी चलिरहेको उनको बुझाइ छ ।

यसरी मौन अवधि र आचारसंहिता उल्लंघन गर्ने जोसुकै उम्मेदवार भए पनि मतदाताले ‘ब्यालेट’बाट जवाफ दिनुपर्ने दाहालले बताए । ‘जुनसुकै हर्कत पार गरेर भए पनि संसदमा पुग्नुपर्छ भन्ने मानसिकतालाई जनताले पाठ नसकिए राजनीति थप विकृत हुने उनको बुझाइ छ । आयोगको कारबाही प्रभावकारी नहुँदा रास्वपा आचारसंहिता उल्लंघनमा निक्कै अगाडि रहेको उनले बताए ।
उम्मेदवारले सबै निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको भए पनि रास्वपा उम्मेदवार रुविनाले सामाजिक सञ्जालमा क्यूआर कोड र बैंक खाता सार्वजनिक गरी आम नागरिकसँग प्रत्यक्ष चन्दा मागेकी थिइन् । खाताको विवरण उपलब्ध नगराइकन कारोबार गरेको आयोगको भनाइ छ । त्यो पनि आचारसंहिता उल्लंघन हो ।
आचारसंहिता अनुगमन अधिकृत कोइरालाका अनुसार उजुरी परेपछि तुरुन्तै उम्मेदवार वा प्रतिनिधिलाई फोन गरेर सच्याउन लगाउने गरिएको छ । ‘रास्वपाले नेपालको झन्डा दुरुपयोग गरेको विषय सुधार भइसकेको छ । मंगलबार निर्वाचन सम्पर्क कार्यालय खोलेर गतिविधि गरेको पाइएपछि प्रहरी परिचालन गरेर बन्द गराइएको हो,’ उनले भने ।
मोरङमा हालसम्म ३२ जना उम्मेदवारलाई मौखिक स्पष्टीकरण सोधेर आचारसंहिता उल्लंघन बन्द गर्न निर्देशन दिइएको उनको भनाइ छ । ‘मौखिक स्पष्टीकरणमै दल एवं उम्मेदवारले सच्चिने जवाफ दिने गरेका कारण कसैलाई पनि लिखित स्पष्टीकरण र थप कारबाही गरिएको छैन,’ उनी भन्छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा विभिन्न दल र स्वतन्त्र गरेर १ सय १० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मोरङ–६ मा भने १७ जना उम्मेदवार छन् ।
मोरङ–६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्यको चन्दा विवाद, आर्थिक पारदर्शितामा प्रश्न

























