
भोजपुर । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा आगामी चैत २१ र २२ गते ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ हुने भएको छ। यसअघि मंसिरमा हुने भनिएको यो प्रतियोगिता प्राविधिक कारणले चैतमा सर्न पुगेको हो।
भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले पहिलोपटक यो साहसिक खेलको आयोजना गर्न लागेका हुन्। प्रतियोगिताका लागि तीनवटै पालिकाले ५–५ लाख रुपैयाँ बजेट छुट्याएका छन्। मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाका अनुसार रेस भोजपुरको सबैभन्दा होचो स्थान हसनपुर कोप्चे (१५३ मिटर) बाट सुरु भई पाँचधारे तावाभञ्ज्याङसम्म चल्नेछ।
प्रतियोगिता मुख्य गरी तीन विधामा सञ्चालन हुनेछ। ६० किलोमिटर दूरीको विधामा प्रथम हुनेले ८० हजार, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, ४५ किलोमिटरको खुला विधामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। ४० वर्षमाथिको भेट्रान्स विधाका विजेताले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
महिला र पुरुष दुवैतर्फका विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब १०० जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ एजुकेसन एन्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताए।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोकका अध्यक्ष अशोक राई र रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारिएको बताए। यसअघि पनि यस क्षेत्रमा विभिन्न दूरीका अल्ट्रा रेसहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।



















