
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाएको आरोपमा सञ्चालकहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार गरेको विशेष अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेका स्पा सेन्टरहरूबाट आठ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइडका ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मीला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार रहेका छन् ।
कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार ती स्पा सेन्टरहरूमा कानुनी मापदण्ड उल्लंघन गर्नुका साथै बालिकाहरूलाई कामदारका रूपमा प्रयोग गरिएको र अवाञ्छित गतिविधि सञ्चालन भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुगमनका क्रममा स्पा सेन्टरहरूबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सञ्चालकहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, बालश्रम तथा अन्य सम्बन्धित कानुनी प्रावधान अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























