
विराटनगर । मोरङको सुन्दरहरैँचा घर भएका दुई जना युवालाई प्रहरीले सुनसरीको इनरुवाबाट आइतबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–६ का २१ वर्षीय अनिष तामाङ र २२ वर्षीय राघव राई रहेका छन् ।
उनीहरुलाई प्रहरीले इनरुवा नगरपालिका–४ बाट साँझ ६ः३० बजेतिर पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ पैदल नै आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले शरीर खानतलासी गर्दा अनिषको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ ४.३४ ग्राम बरामद भएको थियो ।
त्यसपछि दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























