
काठमाडौं। केही समयदेखि लगातार घट्दो क्रममा रहेको नेपालको सेयर बजारमा सोमबार ठूलो उत्साह देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारप्रति सकारात्मक अभिव्यक्ति दिएसँगै त्यसको सिधा प्रभाव बजार परिसूचकमा देखिएको हो। अर्थमन्त्री वाग्लेले आज स्टक ब्रोकर एसोसिएसनलगायत सरोकारवाला पक्षसँग बजारको वर्तमान अवस्था र सुधारका उपायबारे छलफल गरेका थिए।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ८३.३३ अङ्कले बढेर २७६०.०२ बिन्दुमा पुगेर बन्द भएको छ। बजार खुल्नेबित्तिकै बढ्न थालेको नेप्सेले अन्तिम समयसम्म पनि आफ्नो वृद्धिलाई कायमै राखेको थियो। परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने अघिल्ला दिनहरूको तुलनामा केही घटेको छ।
आज दिनभरिमा कुल १० अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसले बजारमा ठूला लगानीकर्ताहरू पुनः सक्रिय हुन थालेको संकेत गरेको छ। आज कुल १ लाख २४ हजार पटकको कारोबारमा २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएका छन्।
आजको बजारमा कुल २६४ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रो रहेका छन् भने सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको मात्रै १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै हिमालयन रिइन्स्योरेन्स ५४ करोड ९२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर ४८ करोड १९ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रहेका छन्।
आज कारोबार भएका कुल कम्पनीमध्ये जम्मा ३ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल्स, भगवती हाइड्रोपावर र नारायणी विकास बैंकको मूल्यमा भने आज गिरावट देखिएको छ।



















