इरानद्वारा युद्ध अन्त्यको प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २४, मंगलबार ११:४८

एजेन्सी । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित पाकिस्तानमार्फत शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव दीर्घकालीन समाधानमा केन्द्रित रहेको छ ।

अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावलाई करिब दुई सातासम्म गहिरो अध्ययन गरेपछि तेहरानले त्यसलाई अस्वीकार गर्दै आफ्नै सर्तमा समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो । बीबीसीका अनुसार पाकिस्तानमार्फत सन्देश आदान–प्रदान गरिएको हो ।

Advertisement

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई समयसीमा दिएका थिए । सो मार्ग बन्द भए इरानका पूर्वाधारमा आक्रमण गरिने चेतावनीसमेत दिएका थिए । म्याद सकिनुअघि नै इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने प्रस्ताव अघि सारेको हो ।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत संवाद भइरहेको पुष्टि गरेका थिए । तर, उनले अमेरिकाको प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारेका थिए ।

इरानले प्रस्तुत गरेको प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन, पुनर्निर्माण र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने मागहरू समेटिएका छन् । फेब्रुअरी २८ देखि सुरु भएको तनावपछि इरान र इजरायलबीचको द्वन्द्व अझ चर्किएको छ । यसले खाडी क्षेत्रमा असुरक्षा बढाउनुका साथै विश्व बजारमा तेल आपूर्तिमा असर परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.