
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सैन्य आक्रमण दुई साताका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
उनले यो निर्णय इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुजलाई पूर्णरूपमा खुला र सुरक्षित बनाउने सर्तमा मात्र लागू हुने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार प्रस्तावित युद्धविराम ‘दोहोरो सहमति’मा आधारित हुनेछ । जसमा दुवै पक्षले तनाव घटाउने दिशामा कदम चाल्नुपर्नेछ ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत पाकिस्तानको नेतृत्वसँग भएको वार्ताले यो निर्णयमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । विशेषतः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि तत्काल आक्रमण रोक्ने निष्कर्षमा पुगेको ट्रम्पको भनाइ छ ।
पाकिस्तानले अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पनि उनले बताएका छन् । यसअघि अमेरिकाले इरानलाई हर्मुज जलडमरू नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको थियो ।
हालका लागि भने कूटनीतिक पहलले सम्भावित ठूलो द्वन्द्व टरेको छ । यदि इरानले सर्त पालना गरेमा दीर्घकालीन शान्तिको सम्भावना बढ्ने अनुमान गरिएको छ ।
यसैबीच, इरानले मध्यपूर्वमा जारी तनाव अझै अन्त्य नभएको स्पष्ट पार्दै आफ्ना सबै माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा युद्धविरामका लागि प्रस्तुत १० बुँदे प्रस्तावका सबै पक्ष अन्तिम रूप पाएपछि मात्र सहमति सम्भव हुने उल्लेख गरिएको छ ।
इरानले अमेरिकामाथि विश्वास नभएको दोहोर्याउँदै वार्ताका लागि दुई हप्ताको समय दिएको जनाएको छ । जसलाई आवश्यक परे थप गर्न सकिने पनि बताइएको छ । परिषद्ले शत्रुपक्षको कुनै पनि गल्तीको कडा प्रतिकार गर्ने चेतावनी दिँदै आफूहरू अन्तिम परिणाम नआउँदासम्म एकजुट भएर मैदानमा रहने अडान व्यक्त गरेको छ ।



















