
एजेन्सी । दुई साताका लागि युद्धविराम घोषणा गरिए पनि मध्यपूर्वको तनाव घट्ने कुनै संकेत देखिएको छैन । इरान र अमेरिकाबीच औपचारिक रूपमा युद्धविराम सहमति भएको भनिए पनि इजरायल र इरानबीच प्रत्यक्ष आक्रमणहरू निरन्तर भइरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायली वायुसेनाले इरानका विभिन्न स्थानलाई लक्षित गरी हवाई आक्रमणहरू जारी राखेको छ । इजरायलले सुरक्षा खतराको हवाला दिँदै आफ्ना कारबाहीहरू रोकेको छैन ।
उता इरानले पनि त्यसको जवाफस्वरूप इजरायलतर्फ दर्जनौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दुवै पक्षबाट जारी आक्रमणले युद्धविरामको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
यसबीच शाहबाज शरीफले युद्धविरामको दायरा लेबनान सम्म विस्तार गरिएको दाबी गरेका छन् । तर, इजरायलले लेबनानमा सक्रिय सशस्त्र समूह हिजबुल्लाहविरुद्धका आफ्ना सैन्य कारबाही भने जारी राखेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख गरिएको छ ।
विश्लेषकहरूका अनुसार बहुपक्षीय तनाव र क्षेत्रीय शक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताले युद्धविरामलाई कमजोर बनाएको छ । इजरायल–इरानबीचको द्वन्द्व दुई देशबीच सीमित नरही लेबनान, सिरिया र अन्य मध्यपूर्वी क्षेत्रहरूमा समेत असर पारिरहेको छ ।
मध्यपूर्वको पछिल्लो घटनाक्रमले विश्व समुदायलाई चिन्तित बनाएको छ । संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायहरूले तत्काल संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरे पनि वास्तविक स्थितिमा भने शान्तिको संकेत देखिएको छैन ।



















