सशस्त्र समूहको आक्रमणमा २० जनाको हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार १४:४१

नाइजर । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सशस्त्र समूहले गरेको भीषण आक्रमणमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । मङ्गलबार राति नाइजर राज्यको शिरोरो जिल्लाका विभिन्न गाउँहरूमा बन्दुकधारीहरूले अन्धाधुन्ध आक्रमण गरी सर्वसाधारणको हत्या गर्नुका साथै केहीलाई अपहरण समेत गरेका छन् ।

प्रहरी प्रवक्ता वासिउ अबियोडुनका अनुसार आक्रमणकारीहरूले बाग्ना र एरेना गाउँलाई निशाना बनाएका थिए । सुरक्षाकर्मी र बन्दुकधारीबीच भएको झडपमा दुई जना सामुदायिक सुरक्षा गार्ड र एक चालकको मृत्यु भएको आधिकारिक जानकारी आए पनि स्थानीय बासिन्दाले भने मृतकको सङ्ख्या २० पुगेको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले धेरै घण्टासम्म गाउँमा आतङ्क मच्चाउँदै घरहरू ध्वस्त पारेका थिए ।

Advertisement

आक्रमणको त्रासका कारण सयौँ गाउँलेहरू आफ्नो थातथलो छोडेर नजिकका ग्वादा जुम्बा र गलादिमा कोगो क्षेत्रमा शरण लिन पुगेका छन् । नाइजेरियाको उत्तरी क्षेत्रमा लामो समयदेखि आपराधिक समूह र इस्लामिक उग्रवादीहरूको हिंसात्मक गतिविधि चुनौतीको रूपमा रहँदै आएको छ । बढ्दो असुरक्षालाई मध्यनजर गर्दै राष्ट्रपति बोला टिनुबुले देशका ३६ वटै राज्यलाई आफ्नै प्रहरी बल गठन गर्न दिने प्रस्ताव अघि बढाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.