
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषय सञ्चारमाध्यममार्फत थाहा पाएको बताएका छन् ।
देउवाले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफ्नो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन् । उनले सार्वजनिक पदमा रहँदा नेपालको प्रचलित कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेस गरिएको स्पष्ट पारे ।
उनले आफू सधैं लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति प्रतिबद्ध रहँदै आएको बताउँदै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उल्लेख गरेका छन् । उनले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफूले भूमिका खेलेको पनि उल्लेख गरेका छन् ।
देउवाले विगत स्मरण गर्दै २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन र २०५९ सालमा प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू गरिएको बताएका छन् । हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले आफ्नो उपचार प्रक्रिया जारी रहेको जानकारी दिँदै सार्वजनिक भएका अतिरञ्जित विवरणप्रति विश्वास नगर्न सबैलाई आग्रह गरेका छन् ।
देउवासँगै उनकी पत्नी अरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
यस्तो छ देउवाको प्रतिक्रियाको पूर्णपाठ
आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।
जय नेपाल ।
शेरबहादुर देउवा



















