
एजेन्सी । अमेरिका, इजरायल र इरानबीच दुई साताका लागि गरिएको युद्धविराम घोषणा भएको एक दिन पनि नबित्दै इरानले रणनीतिक महत्वको हर्मुज जलडमरू फेरि बन्द गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि इरानले तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग अवरुद्ध गर्ने निर्णय लिएको हो । बुधबार इजरायलले लेबनानका विभिन्न स्थानमा व्यापक आक्रमण गरेको थियो ।
लेबनानी नागरिक रक्षा विभागका अनुसार उक्त आक्रमणमा कम्तीमा दुई सय ५४ जनाको मृत्यु भएको छ भने एक हजार एक सयभन्दा बढी घाइते भएका छन् । घटनापछि क्षेत्रीय तनाव झन् चर्किएको छ ।
इरानले हर्मुज जलडमरू हुँदै आवतजावत गर्ने तेल ट्यांकरहरुको मार्ग रोक्दै दबाब सिर्जना गर्न खोजेको विश्लेषण गरिएको छ । यसअघि लेबनानमा सक्रिय हिजबुल्लाह समूहले आफूलाई युद्धविराममा समावेश नगरिए सम्झौता अस्वीकार्य हुने चेतावनी दिएको थियो ।
इरानले अमेरिकालाई पठाएको दश बुँदे सर्तमा हिजबुल्लाहमाथि हुने आक्रमण रोक्नुपर्ने माग पनि समावेश गरिएको थियो । तर, सो माग बेवास्ता गर्दै इजरायलले आक्रमण जारी राखेपछि इरानले कडा प्रतिक्रिया स्वरूप जलमार्ग बन्द गरेको छ । यस घटनाले मध्यपूर्वको अवस्था थप जटिल बन्ने देखिन्छ ।



















