भेपमा लुकाएर सुन तस्करी : पूर्वसभामुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार १६:२८

काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध पनि अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तीयारले पूर्वसभामुख महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement

सुन तस्करहरूसँग करोडौँ लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौँ राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अख्तीयारले अनुसन्धान गरेको थियो ।

अख्तियारको अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । ती भेपभित्र सुन लुकाइएको थियो ।

भन्सारमा जाँच गर्ने क्रममा तत्कालीन एक्स रे स्क्रिनर (नायब सुब्बा)ले उक्त ब्यागेजमा शङ्कास्पद वस्तु देखेर रेड च्यानलमा पठाएका थिए । एक्स– रे मेसिनले धातुको मोटाइ र रङ छुट्याउन सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच गरेका थिएनन् ।

२०७९ पुस १० गतेदेखि यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल (रेशम महरा)ले चिनियाँ नागरिक दावा छिरिङ, निमा गुरुङलगायतसँग मिलेर चलखेल गरेका थिए । त्यसपछि विमानस्थलको गोदामबाट सुन भएका भेप निकालेर सुन नभएका भेप राखिएको थियो । यसरी राखेको भेप पछि लिलामी गरेको देखाइएको थियो ।

८ हजार ४८० दशमलव ५१ ग्राम सुनबापत हुन आउने सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति हिनामिना गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.