
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा र निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले आज (बिहीबार) यस्तो आदेश दिएको हो।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितका सदस्यहरूले चैत २२ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले निर्वाचन प्रक्रिया अघि नबढाउन भनेको छ। रिटमा उद्योग वाणिज्य महासंघ, यसको कार्यकारिणी समिति, सदस्यता समिति र निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।
यसअघि चैत २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आजको बहसपछि उक्त आदेशले निरन्तरता पाएको हो। महासंघले आगामी चैत २९ र ३० गते नयाँ नेतृत्व चयनका लागि साधारण सभा र चुनाव गर्ने तयारी गरेको थियो।



















