
एजेन्सी । मध्यपूर्वको अत्यन्त संवेदनशील हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोप तीव्र बनेको छ ।
विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्गका रूपमा चिनिने यस जलमार्गको प्रयोग, नियन्त्रण र शुल्कसम्बन्धी विषयमा दुवै देशले फरक–फरक धारणा सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको टकरावलाई स्पष्ट पार्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै हुने तेल आवागमनमा इरानले ‘धेरै खराब व्यवहार’ गरिरहेको आरोप लगाएका छन् । उनले इरानको गतिविधिलाई कतिपयले ‘बेइमानी’का रूपमा पनि लिन सक्ने बताएका छन् ।
ट्रम्पका अनुसार इरानले जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुलिरहेको भए त्यो कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताको हिस्सा होइन । उनले यस्तो कार्य तुरुन्त बन्द गर्नुपर्ने चेतावनी दिँदै यदि इरानले यसलाई निरन्तरता दिए गम्भीर परिणाम आउन सक्ने संकेत गरेका छन् । अमेरिकी पक्षले हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जलमार्गका रूपमा स्वतन्त्र र अवरोधरहित रूपमा प्रयोग हुनुपर्ने धारणा राख्दै आएको छ ।
यता, इरानले भने हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण अझ सुदृढ बनाउने स्पष्ट संकेत दिएको छ । इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले उक्त जलमार्गको सुरक्षा र निगरानी अझ कडा बनाइने बताएका छन् । उनले हर्मुज क्षेत्र इरानको राष्ट्रिय सुरक्षा र हितसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै बाह्य दबाबका आधारमा नीति परिवर्तन नहुने बताएका छन् ।
हर्मुज जलमार्ग विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक हो । जहाँबाट ठूलो परिमाणमा कच्चा तेल ढुवानी हुने गर्छ । यस्तो अवस्थामा अमेरिका र इरानबीच बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता ल्याउने चिन्ता बढेको छ । दुवै देशबीचको टकरावले आगामी दिनमा हर्मुज जलमार्ग क्षेत्रमा थप तनाव सिर्जना हुने संकेत देखिएको छ ।



















