
एजेन्सी । इरानका पूर्वविदेशमन्त्री तथा देशका प्रभावशाली राजनीतिक व्यक्तित्व कमाल खराजीको निधन भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार यसै महिनाको सुरुतिर भएको एक आक्रमणमा गम्भीर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो ।
खराजी इरानको राजनीतिक वृत्तमा सुधारवादी धारका प्रभावशाली नेताका रूपमा परिचित थिए । उनी सर्वोच्च नेता अली खामेनीका निकट सल्लाहकार तथा रणनीतिक विदेश सम्बन्ध परिषद्का प्रमुखसमेत रहेका थिए ।
उनले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सो अवधिमा इरानको कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सुधारवादी पक्षधर ‘जामरान न्यूज’ वेबसाइटले अप्रिल १ मा सार्वजनिक गरेको विवरणअनुसार तेहरानस्थित आफ्नै निवासमा भएको आक्रमणका क्रममा खराजी गम्भीर रूपमा घाइते भएका थिए । सोही घटनामा उनकी पत्नीको समेत मृत्यु भएको थियो ।
घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका खराजीको उपचारका क्रममा निधन भएको समाचारमा जनाइएको छ । खराजीको निधनसँगै इरानको कूटनीतिक र राजनीतिक क्षेत्रमा लामो समयसम्म सक्रिय रहेको एक अनुभवी नेताको अध्याय समाप्त भएको छ । उनको योगदानलाई इरानको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण मानिँदै आएको छ ।



















