अमेरिका–इरान वार्ताको तयारी तीव्र, विश्वको ध्यान पाकिस्तानतर्फ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ०९:४२
सांकेतिक फोटो ।

एजेन्सी । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबार इस्लामाबादमा हुने भएको छ । जसलाई लिएर राजधानीमा सुरक्षा तयारी र कूटनीतिक चहलपहल तीव्र बनेको छ ।

इजरायल–अमेरिका र इरान तनावपछि उत्पन्न क्षेत्रीय अस्थिरताबीच हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय समुदायले अत्यन्त नजिकबाट नियालिरहेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षलाई औपचारिक रूपमा आमन्त्रण गरेपछि वार्ता इस्लामाबादस्थित रेड जोन क्षेत्रमा रहेको सेरेना होटलमा आयोजना गरिने तयारी गरिएको छ ।

Advertisement

सुरक्षा संवेदनशीलताका कारण होटल बुधबारदेखि आइतबारसम्म खाली गराइएको छ भने आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ । सहरका प्रमुख प्रवेश बिन्दुहरू बन्द गरिएको छ । सार्वजनिक बिदा समेत घोषणा गरिएको छ ।

वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने बताइएको छ । टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ र ज्वाइँ जारेड कुशनर पनि सहभागी हुनेछन् ।

इरानी पक्षबाट संसद सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गर्नेछन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका प्रतिनिधिहरूको सहभागिता भने अझै स्पष्ट भएको छैन ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले वार्ताको सहजीकरण गर्नेछन् । प्रारम्भिक चरणमा दुवै पक्षसँग छुट्टाछुट्टै बैठक हुने र त्यसपछि पाकिस्तानी मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिने कूटनीतिक स्रोतहरूले जनाएका छन् । वार्तालाई शटल कूटनीति शैलीमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यस वार्तामा इरानले हर्मुज जलडमरूमाथिको निरीक्षण, अमेरिकी सैन्य उपस्थिति घटाउने तथा क्षेत्रीय सशस्त्र समूहहरूमाथिको कारबाही रोक्ने जस्ता प्रस्ताव अघि सार्ने अपेक्षा गरिएको छ । उता अमेरिका पक्षले इरानको युरेनियम भण्डारण नियन्त्रणमा लिनुपर्ने माग राख्ने सम्भावना रहेको बताइएको छ ।

विश्वव्यापी रूपमा चासो बढाइरहेको यो वार्ताले मध्यपूर्वको तनाव घटाउने वा अझ जटिल बनाउने भन्ने प्रश्न पनि उब्जाएको छ । इस्लामाबाद अहिले कूटनीतिक वार्ताको केन्द्र मात्र नभई सम्भावित नयाँ राजनीतिक समीकरणको निर्णायक थलोका रूपमा स्थापित भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.