
काठमाडौं । पश्चिम एसियाका केही बाँकी देशमा पुनः श्रम स्वीकृति खुलाउने तयारी अघि बढाइएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी)ले पछिल्लो क्षेत्रीय अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यस्तो सिफारिस गरेको हो ।
यसअघि फागुन १७ गते १२ देशमा श्रम स्वीकृति स्थगन गरिएकोमा चैत ३ गते केही देशमा पुनः खुला गरिए पनि इजरायल, कुवेत, बहराइन, इरान, इराक र लेबनानमा अझै रोक लगाइएको थियो । अहिले ईआरटीले द्वन्द्वरत पक्षबीच अस्थायी युद्धविराम र अवस्थाको क्रमिक सुधारलाई आधार मान्दै इजरायल, कुवेत र बहराइनमा श्रम स्वीकृति खुलाउने सुझाव दिएको हो ।
श्रम मन्त्रालयले उक्त सिफारिसअनुसार आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ । तर, यसअघि मन्त्रिस्तरबाटै निर्णय गरेर रोक लगाइएकाले पुनः खुलाउन पनि मन्त्रीस्तरकै निर्णय आवश्यक पर्ने देखिएको छ ।
यसैबीच, श्रममन्त्री परिवर्तनका कारण निर्णय प्रक्रिया केही प्रभावित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाल (बालेन)ले पूर्वमन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि नव नियुक्त मन्त्री रामजी यादवले अब यस विषयमा अन्तिम निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।



















