
एजेन्सी । दक्षिणी लेबनानको नबातियेह क्षेत्रमा इजरायलले गरेको आक्रमणमा १३ जना सरकारी सुरक्षाकर्मीको ज्यान गएको छ । लेबनानी राष्ट्रपति जोसेफ आउनको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गरेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार सुरक्षा निकायमा कार्यरत कर्मचारीहरू लक्षित आक्रमण गरिएको थियो । घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ । घटनाबारे इजरायली सेनाले भने आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यता, इजरायली सेनाले छुट्टै बयान जारी गर्दै दक्षिणी लेबनानमै विस्फोटक बोकेको ड्रोन खस्दा आफ्ना एक सैनिक गम्भीर घाइते भएको जनाएको छ । सो घटनामा अर्का एक सैनिक सामान्य घाइते भएका छन् । घाइतेहरूलाई तुरुन्त अस्पताल लगिएको र परिवारलाई जानकारी गराइएको सेनाले जनाएको छ ।
पछिल्लो समय लेबनान–इजरायल सीमाक्षेत्रमा तनाव बढ्दो छ । निरन्तर आक्रमण, प्रतिआक्रमण र ड्रोन प्रयोगका घटनाले अवस्था झन् जटिल बन्दै गएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहे पनि दुवै पक्षबीचको अविश्वासका कारण अवस्था सहज हुने संकेत देखिएको छैन ।



















